काठमाडौं । प्रहरी हुँ भनी धम्की दिई रकम माग गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। क्षेत्रीले सामाजिक संजाल मार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरूलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईंहरुको केही काम छ भने भन्नुहोस् गरिदिन्छु” भनी रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो।
उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।