काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रससंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र सोही कार्यक्रममा उपस्थित भारतका प्रधानमन्त्री मोदीबीच केहीबेर अघि भेटवार्ता भएको हो।
भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको ओलीले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत जानकारी दिएका छन्। सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो।
यसै दाैरान ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल सबाहबीच पनि भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालयमा भेटवार्ता भएको हो।