काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज (बुधबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उनलाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शान्ति कार्य निर्देशनालयमा कार्यरत सहायक रथी पुनलाई बढुवा गर्न सेनाले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मंसिर १६ गते उपरथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
उपरथी बाबुराम श्रेष्ठ कात्तिक १ गते अवकास भएपछि रिक्त स्थानमा पुनलाई बढुवा गरिएको हो । यसअघि २०७७ असारमा पुन सहायक रथीमा बढुवा भएका थिए । नेपाल सेनामा अर्को पनि उपरथी पद रिक्त छ । प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा पनि बढुवाको तयारी गरिएको छ । उक्त स्थानमा सहायक रथी नहकुल रायमाझीलाई बढुवा गर्ने तयारी छ ।