काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिकाबाट संचालित आँबुखैरेनी अस्पतालले स्वास्थ्य सेवालाई मजबूद बनाएको छ । स्थानीय तहमा पहिलो पटक हर्नियाको सफल अप्रेशन गरेर ख्याति कमाएको यस अस्पतालले हेमो डायलासिसका साथै शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम समेत स्वीकृत पाएको हो ।
मंसिर महिनामा थप तीन वटा स्वास्थ्य सुविधाका लागि स्वास्थ्य सेवा विभागबाट अनुमति पाएपछि यस क्षेत्रका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । दमौली अस्पतालका सुपरीटेण्डेन एवं सर्जन डा.परिवर्तन बरालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले केही दिन अघि स्थानीय ५९ वर्षका माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरेको थियो ।
त्यसैगरी मृगौलाका बिरामीको डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएपछि सेवा दिन सुरु गरेको सो अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आमनागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिएको थिए।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा केहीदिन अघि गएको टोलीले अस्पतालमा सेवा सञ्चालनका लागि सुचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको जनाएपछि मन्त्री पौडेलले सहजीकरण गरेका थिए ।
सेवा सूचिकृतका साथै अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा समेत सघाउने मन्त्री पौडेलबाट आश्वसन पाउँदा थप हौसला मिलेको अध्यक्ष चुमानले बताए ।
साथै, स्वास्थ्य सेवा विभागको मंङसिर २६ गतेको निर्णयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि अनुमति स्वीकृत प्रदान गरेको छ ।
उक्त कार्यक्रम लागु भएसंगै गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् । उक्त अस्पतालबाट तनहुँसहित छिमेकी जिल्ला गोरखा,लमजुङ र चितवनका केही क्षेत्रका बासिन्दाले सेवा लिदै आएको आँबुखैरेनी अस्पतालका प्रमुख डा.डिबी क्षेत्रीले जानकारी दिए ।