काठमाडौं । लमजुङ क्व्होंलासोथार गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । बिहीबार सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मालिङमा निर्मित भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री गुरुले देशमा सुशासन नहुँदा विकास नभएको भन्दै अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको दाबी गरे । मन्त्री गुरुङले सरकारले अहिले समस्या पहिचान गर्दै दिगो विकासका गतिविधि सञ्चालन गर्ने बताए ।
गण्डकी प्रदेश बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गाउँपालिकाको कामलाई प्रविधिमैत्री बनाउन जोड दिए ।
जनप्रतिनिधिले राजनीतिक स्वार्थ भन्दापनि नागरिकले कसरी छिटो र सहज तरिकाले सेवा पाउँछन् भन्ने विषयमा ध्यानदिनुपर्ने मन्त्री पौडेलको भनाई छ।
२०७७ साल असोजबाट निर्माण थालनी भएको प्रशासकीय भवनको निर्माण कार्य झण्डै एकवर्ष ढिला गरी सम्पन्न भएको थियो । २०७९ असोजमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको भवन निर्माण कार्य निर्माण पक्षले चासो नदिँदा निर्माण अवधि लम्बिएको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए ।
क्व्होलासोथर गाँउपालिका वडा नं. २ स्थित मालिङमा दुई रोपनी एक आन दुई पैसा जग्गामा निर्माण सम्पन्न तीन तले भवन चार करोड १४ लाख १२ हजार नौ सय ३९ रुपैयाँ ६३ पैसाको लागतमा बनेको हो । भवन निर्माणका लागि रविना–अविशा–विकन जे.भी. निर्माण कम्पनी संग २०७७ साल असोज ३० गते सम्झौता भएको थियो ।
तस्बिरः कृष्ण केसी