काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका– ११ चाफाबोट, बजारखुट्टा राधाकृष्ण आमा समूहले सामुहिक आलु खेती गरेको छ ।
वडा कार्यालयको सहयोगमा १६ जना महिलाहरूले सामूहिक आलु खेती गरेका हुन् । २० रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरिएको समूहकी अध्यक्ष लक्ष्मी घर्तीले बताइन् ।
वडा कार्यालयले सहयोग गरेको रकमबाहेक आमा समूहले थप ३० प्रतिशत लगानी समूहकोतर्फबाट गरेको छ । बाँझो जग्गाको सदुपयोग गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको वडा नंं ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले बताए । वडा कार्यालयले उक्त कार्यक्रमका लागि डेढलाख रुपैयाँ अनुदान दिएको छ । नौ क्विन्टल बीउ लगाइएको समूहकी सचिव निरु खवासले बताइन् ।
गाउँमा बाँझो रहेको जग्गाको सदुपयोगसँगै स्थानीयको आयआर्जनमा टेवा पुर्याउन केहीहदसम्म बेरोजगारी समस्या समेत समाधान हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष जोशीले जानकारी दिए । आमाहरूले आलु लगाई रहदा वडाध्यक्ष जोशी आफै पनि आलु खेती गरिएको खेतमा पुगेर खेती गरेको हेरेको बताए ।
यसवर्ष एउटा समूहलाई सामूहिक आलु खेतीका लागि प्रेरित गरेको वडा कार्यालयले आगामी बर्ष ७ वटासम्म कृषक समूहलाई व्यवसायीक आलु खेतीका लागि सहयोग गर्ने योजना बनाएको वडाध्यक्ष जोशीले बताए ।