काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेको छ।
तर, सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले क्रमशः कमी आएको छ।
आइतबार कुल ३१६ कम्पनीका करिब ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्। यो कारोबार रकम गत बिहीबारको १६ अर्ब ३० करोडभन्दा उल्लेख्य रूपमा बढी हो।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशतले, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।
आज उन्नति सहकारी लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जी, ट्रेड टावर र शिवश्री हाइड्रोपावरका शेयरहरू सकारात्मक सर्किटमा कारोबार भएका छन्।
तर समृद्धि फाइनान्सको शेयर मूल्य ८.८८ प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेमा सामान्य अंकको वृद्धि भए पनि उच्च कारोबार रकमले बजारमा सकृयता देखाएको विश्लेषकहरूको भनाइ छ।