काठमाडौं । सिरहाको तत्कालीन राजपुर गाउँ विकास समिति (गाविस)का सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैदको फैसला गरेको छ।
गत बुधवार विशेष अदालतले दोषी ठहर गरेका उनलाई आज सोमबार विशेष अदालतका अध्यष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनलाई भ्रष्टाचारको कसुरमा २४ लाख ९२ हजार ५१० रुपैयाँ ५० पैसा जरिवानाको फैसला पनि भएको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को कसुरमा उक्त सजाय सुनाइएको हो।
त्यही ऐनको दफा ८ (१) बमोजिम २ लाख ६७ हजार २६ रुपैयाँ बिगो बरावरको जरिवाना र एक वर्ष कैदको फैसला भएको छ।