काठमाडौं । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त भएका छन् ।
सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै मन्त्रालयको जिम्मेबारी दिएका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।
गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्टै मुख्यमन्त्री पाण्डेले देवकोटालाई मन्त्री नियुक्त गरेका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना सभामा पढेर सुनाएका थिए ।
माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न सर्वोच्चले आदेश दिएको थियो ।