काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिष्टब्युरो कमिटी चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न चुनाव गर्ने निर्णय गरेको छ ।
सहमतिबाट पदाधिकारी चयन गर्न कोसिस गरिए पनि सफल नभएपछि चुनावमा जाने निर्णय भएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनमा जाने तयारी भएको जानकारी दिए ।
चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव चयन हुनेछन् । एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहने प्रावधान छ । असार १६–२० गतेसम्म काठमाण्डुमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन भएर पदाधिकारी चयन बाँकी थियो ।
महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।