काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियमा आफू कार्यरत रहँदा गैरकानुनी काम भएको भए त्यसको नैतिक र कानुनी जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा लाइभ आएका लामिछानेले गोर्खा मिडियामा आफू कार्यरत रहँदा गैरकानुनी काम भएको भए त्यसको जे जिम्मेवारी लिन पनि आफू तयार रहेको बताएका हुन्।
‘गोर्खा मिडियामा मेरो कार्यकालमा आएको रकमका बारेमा जुनसुकै जिम्मेवारी लिन, कानुनले जे भन्छ त्यो गर्न म तयार छु,’ उनले भने।
हिजो पनि आफूले ऋण लिएको प्रमाणीत भए कहाँ बुझाउनुपर्ने हो त्यसका लागि तयार रहेको भन्दै आएको र आज पनि गोर्खा मिडियामा आफ्नो कार्यकालमा आएको रकमबारे कानुनले जे भन्छ त्यसका लागि तयार रहेको लामिछानेले बताए। छानबिन समितिको प्रतिवेदनले रवि लामिछानेले सहकारीबाट ऋण लिएको नदेखिएको प्रमाणीत गरेको उनको भनाइ छ।
यस्तो अवस्थामा छलछामबाट लडाउन खोज्ने, तर्साउन खोज्ने, मिडिया ट्रायल गर्न खोज्ने, पुलिस घुमाउने, पक्राउ पुर्जी जारी गर्न सकिन्छ कि भनेर प्रयास गर्ने, त्यसको सूचना फैलाएर माहोल बनाउन खोज्ने प्रयास नगर्न उनले सरकारलाई आग्रह गरे ।
‘त्यो मेरो लागि गर्नै पर्दैन। म तयार छु, मेरो झोला जतिबेला पनि रेडी नै छ। कानुनी उपचारका लागि जुनसुकै बेला जान तयार छु,’ उनले भने। उनले आफूलाई कुर्न दसैं कुर्न नपर्ने पनि बताए। ‘दसैंमा घर जान्छन् । विरोध गर्न कोही आउँदैनन् भनेर मौका छोप्न पर्दैन,’ उनले भने, ‘ मलाई पक्राउ गर्न दशैं कुर्नुपर्दैन ।’
लामिछानेले सहकारीम ठगी प्रकरणमा संसदीय छानबिन समितिदेखि पूर्वप्रधानमन्त्री सुरक्षा निकायहरू सबैले संलग्नता नभएको बताएको पनि दाबी गरे। ‘तत्कालीन प्रधानमन्त्रीले संसदमै भनेको कुरा हो। समितिले पनि दोषी छैन भनिसकेको छ। छलछामबाट तर्साउन खोज्ने ?,’ उनले भने।
उनले आफूमाथि अन्याय गरिन खोजे न्यायको पक्षमा उभिन कार्यकर्ताहरूलाई आह्वान पनि गरे। ‘हिजो पनि अन्याय हुँदा सघाउनु भयो आज पनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोला। आज पनि अन्याय गर्यो भने दसैं, तिहार छठ जे भएपनि अन्यायका विरूद्धमा उभिनुहोला,’ उनले भने। लामिछानेले आफ्नो पक्षमा नभई न्यायको पक्षमा उभिन पनि आग्रह गरे।
&