काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको आइतबारको बैठक केहीबेर चलेर स्थगित भएको थियो । त्यसपछि सूचना टाँस गर्दै बैठकको समय सार्दै आइएको थियो ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदको गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
साथै सभामुख घिमिरे र अध्यक्ष दाहालले आइतबार अपराह्न छलफल पनि गरेका थिए । उक्त छलफलपछि सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक स्थगित गर्ने निर्णय भएको स्रोतको भनाइ छ ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।