काठमाडौं । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डुराज घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा दिइएको कर छुटसम्बन्धी अनियमितताको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले घिमिरेसहित १३ जनालाई प्रतिवादी बनाएको जनाएको छ ।
अख्तियारका अनुसार घिमिरेले पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत रहँदा विमानस्थल निर्माणसँग सम्बन्धित कर छुट प्रक्रियामा अनियमितता गरेको आरोप लागेको हो ।
उक्त प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की लाई पनि प्रतिवादी बनाइएको छ । साथै पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी, महेश्वर न्यौपाने र सुरेश आचार्य विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको कर छुट प्रकरण लामो समयदेखि विवादमा रहँदै आएको थियो । अख्तियारले सरकारी राजस्वमा क्षति पुग्ने गरी निर्णय तथा प्रक्रिया अघि बढाइएको निष्कर्षसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । मुद्दाको थप सुनुवाइ विशेष अदालतमा हुने छ ।

