काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन्। जनमत पार्टीका दुई मन्त्रीले गत माघ ९ गते राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिनका लागि मधेश प्रदेश सभा सचिवालयलाई गत बिहीबार पत्र पठाएका थिए ।
जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।