काठमाडौं । आगामी चलचित्र ‘महाराजधिराज’को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। चलचित्रको छायाङ्कन मंगलबारदेखि सुनसरीबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रको शुभमुहूर्त गत मंगलबार काठमाडौँमा एक विशेष समारोहका बीच सम्पन्न गरिएको थियो। प्रारम्भिक चरणमा सुनसरीमा करिब एक हप्ताको छायाङ्कनपछि टोलीले काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा समेत छायाङ्कन गर्ने योजना बनाएको छ।
निर्माण पक्षका अनुसार चलचित्रको सम्पूर्ण छायाङ्कन तालिका ७० दिनको हुनेछ। निर्देशक परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार भइरहेको यो चलचित्रलाई नवराज थापाले छायाङ्कन गरिरहेका छन्। ‘महाराजधिराज’लाई सामाजिक पिरियड ड्रामाका रूपमा प्रस्तुत गरिने निर्देशक सेनले बताएका छन्।
चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी., सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् भने छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको हो। निर्माताहरूमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। चलचित्र आगामी फूलपातीमा प्रदर्शनमा आउने बताइएको छ।

