काठमाडौँ । गत शुक्रबार (वैशाख ४ गते) सार्वजनिक नेपाली फिल्म ‘लालीबजार’को ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। षट्कोण आर्ट्सको निर्माणमा बनेको ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको हो।
हालसम्म ट्रेलरले ३ लाख ५० हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र ट्रेलर मुभी चार्टमा नम्बर ३ स्थानमा रहेको छ।
ट्रेलरमा देखाइएको विषयवस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन्। बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको विशेष प्रशंसा भइरहेको छ।
यसैगरी रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा तथा डेब्यु कलाकार विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनयलाई पनि दर्शकले मन पराएका छन्।
आमाछोरीको कथामा आधारित फिल्ममा बादी समुदायमा रहेको नाथिया जस्तो कुप्रथालाई उठान गरिएको छ। छोरीको रक्षाका लागि आमाले गर्ने संघर्ष फिल्मको मुख्य विषयवस्तु रहेको छ।
फिल्मको निर्देशन यम थापाले गरेका हुन् भने पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।
यसअघि सार्वजनिक भएका गीत ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ पनि युट्युब, टिकटक र रील्समा लोकप्रिय भएका छन्।
फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो र यो फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउनेछ।

