काठमाडौं । सरकारले फेसबुकसहित सामाजिक सञ्जाललाई दर्ताका लागि दिएको सात दिनको म्याद आज (भदौ १८) सकिँदैछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै नेपालमा सञ्चालनमा रहेका वा नेपाल प्रवेश गर्ने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ता हुनुपर्ने घोषणा गरेको थियो।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था दर्ताका लागि सम्पर्कमा आएका छैनन्। सरकारले यसअघि पटक–पटक पत्राचारमार्फत सामाजिक सञ्जाललाई सूचीकरणमा आउन आग्रह गरे पनि अटेर भएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार सात दिनको म्यादसहित अन्तिम चेतावनी दिएको हो।